नक्कली जग्गा विक्रेतालाई सङ्गठित अपराध मुद्दा



काभ्रेपलाञ्चोक । नक्कली जग्गा बिक्री गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले ‘सङ्गठित अपराध मुद्दा’ दर्ता गरेको छ । अनुसन्धानका क्रममा उक्त प्रकरण सङ्गठित अपराध देखिएकाले सोहीअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका–५ मा हुँदै नभएको जग्गालाई ७६ कित्ताको प्लट बनाई बिक्री गर्ने गिरोहको ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगको मुद्दालाई सरकारी वकिल कार्यालयको परामर्शमा सङ्गठित अपराध मुद्दामा बदलिएको हो । यसअघि उक्त प्रकरणका आरोपीलाई ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।


प्रहरीका अनुसार उक्त अभियोगमा अनुसन्धानले एकपछि अर्को व्यक्तिको संलग्नता देखिँदै गएको छ । “अब यो प्रकरणको सङ्गठित अपराधअनुसार थप अनुसन्धान गरिनेछ”, जोशीले भने ।

धादिङ घर भएका रवि रेग्मीले बिक्री गरेको भनिएका जग्गाको प्लटिङ तयार गरी कागजमा कित्ता तयार गर्ने इञ्जीनियर खानिखोला–५ तालढुङ्गा घर भई बनेपा बस्दै आएका निर्मल लामालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसअघि जिल्लास्थित मालपोत कार्यालयका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादवलाई पक्राउ गरेको थियो ।

नक्कली जग्गा खरिदकर्ताले गरेको उजुरीका आधारमा मुख्य योजनाकार भनिएका रेग्मी एक महिनाअघि पक्राउ परेका थिए । उक्त जग्गा बिक्री गर्न सघाउने लेखापढी व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् राजन भने फरार रहेको प्रहरीले जनाएको छ ।

रेग्मीले साविक बनेपा–१ हाल बनेपा–५ मा पर्ने खोला किनारको (हाल प्लटिङ गरिएको) जग्गा देखाउँदै गत साउन ८ गते पास गर्ने गरी ७६ कित्ताको प्लट बनाएर नक्कली कागजातसहित लालपुर्जा तयार गरी ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरी उपरीक्षक जोशीका अनुसार एउटै प्लट देखाएर ठगिनेमध्ये आठ जनाको उजुरी परेको छ भने थप पीडित आउने क्रम पनि देखिएको छ । घडेरीका लागि उक्त जग्गामा विभिन्न खरिदकर्ताले करिब रु तीन करोड बैना गरिसकेको प्रहरीको अनुसन्धानले देखाएको छ ।