‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुँदै



काठमाडाैँ । फोहरमैला व्यवस्थापनमा अत्यावश्यक मानिएको कौसीखेती प्रवद्र्धनका लागि ‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुने भएको छ ।

प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्वीन प्रतियोगिता’मा सहभागिताका लागि आवेदन खुला गरिएको छ । सो प्रतियोगितामा भाग लिन चाहनेले आगामी भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।


सहभागीले १० मिनेटसम्मको परिचयात्मक भिडियो र १० वटा वर्किङ फोटो पठाउनुपर्ने आयोजक प्रज्ञान क्रियसन प्रालिका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको निर्णायक मण्डलमा नेपालस्थित इजरायली राजदूत खनान् गोदरलगायत पाँच जना रहनुभएको उनले बताए ।

आयोजकको फेसबुक पेजमा पोस्ट भएका फोटो तथा भिडियोमा लाइक, कमेन्ट तथा शेयर बढी हुने प्रतियोगीले ५० प्रतिशत नम्बर पाउनेछन् । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने फलाम पाइप प्रयोग गरी तयार गरिएको रु एक लाख ५० हजार बराबरको प्लास्टिक टनेल पुरस्कार पाउनेछ ।

फस्ट रनरअपलाई रु एक लाख तथा सेकेन्ड रनरअपलाई रु ७५ हजार र थर्ड रनरअपलाई रु ५० हजार बराबरको ग्रीनहाउस निर्माण गरिनेछ । प्रतियोगितामा सहभागी हुनेले एक हजार बराबरको कौसीखेतीका सामग्री निःशुल्क पाउनेछन् ।