डायलाइसिस मेसिन आयो, प्राविधिक नभएपछि जडान भएन



दाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलाइसिस प्रमुख लीना बडेलले बताइन् ।

मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन् ।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उनले भनिन्, “प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।”


अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलाइसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताइन् । 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । 

उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलाइसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।