ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई कतारद्वारा देश निकाला



नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देशबाट निकाला गरेको छ । कम्तीमा ६० जना कामदारले निर्माण कम्पनी अल बन्दारी इन्टरनेशनल ग्रुपको दोहास्थित कार्यालय सामु अगस्ट १४ मा र्याली गरेका थिए ।

तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताइएको छ । लगत्तै केही कामदार पक्राउ परे भने केहीलाई देशबाट निकाला गरिएको छ । तर स्पष्ट सङ्ख्या थाहा नभएको बीबीसीले उल्लेख गरेको छ । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बाङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन् ।


कतारको सरकारले निकालिने कामदारहरूले ’सुरक्षा कानुन तोडेको’ बताएको छ । सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाए यता त्यहाँ रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण तीव्र गतिमा भएको थियो। सँगसँगै उसले आप्रवासी श्रमिकहरूप्रति गर्ने व्यवहारमाथि पनि प्रश्न उठेका थिए ।

तर बीबीसीलाई दिएको एक विज्ञप्तिमा कतारी सरकारले दोहामा भएको दुर्लभ विरोधमा सामेल केही कामदारहरूलाई जनसुरक्षा कानुन तोडेको आरोपमा पक्राउ गरिएको स्वीकार गरेको छ।

तीमध्ये ’शान्त रहन नसकेका’ थोरै सङ्ख्याका कामदारलाई देशनिकाला गरिने बुझिएको छ, जबकी अधिकारवादी संस्थाहरूले चाहिँ केही कामदार कतार छाडेर गइसकेको बताएका छन्।