जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण



जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बसेका छन् भने त्यहीबाट गर्न मिल्ने काम पनि गरेका छन् ।

मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए । उनलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् । कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ ।


उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बसेका छन् । उनले कोरोना भाइरस विरुद्धको चौथो पटकको खोप पनि लगाइसकेका थिए । जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरु कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ ।