चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन



जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आज जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन् । सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, चुरे जङ्गलको संरक्षण गर्नुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे तथा वनजङ्गल संरक्षण अभियानका अभियन्ताहरू आन्दोलन गर्दै आएका छन् ।