चाँगुनारायणका जनप्रतिनिधिको १०० दिन : तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग



भक्तपुर । चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख खत्रीले नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ र ४ को सिमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्यधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर विशेषज्ञ सेवा प्रदान गर्न माग गरेका हुन् ।


उनले चाँगुनारायणको नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रूपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बतार् । नगरप्रमुख खत्रीले स्वदेशी तथा विदेशी पर्यटकको मूल गन्तव्य बनेको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडकका रूपमा रहेको भक्तपुर नगरकोट सडक तत्काल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता र पहल गरिरहेको बताए । केही जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्दा भक्तपुर नगरकोट सडक निर्माणमा ढिलाइ भइरहेकाले यसले स्थानीय बासिन्दा र र पर्यटन व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको उनको भनाइ थियो ।

उनले यसवर्ष एसइई उत्तीर्ण ६६४ विद्यार्थीलाई सम्मान गरिएको, नगरभित्रका सबै सामुदायिक विद्यालयका १२ हजार छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको, नगरलाई पूर्ण सरसफाइयुक्त बनाउन पूर्वाधारको तयारीका साथ काम गरिरहेको, नगरपालिकाको स्वीकृति नलिई जग्गा विकास तथा प्लानिङ गरिएका जग्गाको घरबाटो सिफारिसमा पहिलो पटक रु १५ हजार कायम गरिएको, सङ्घीय सरकारले दिएको ८० प्रतिशत अनुदानमा २० प्रतिशत नगरपालिको थप गरी सय प्रतिशत पशु बीमा लागू गर्ने व्यवस्था गरेको जानकारी दिए ।