कोरोना फैलिन नदिन सुदूरपश्चिममा ‘खोज र खोप अभियान’ चलाइँदै



सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ । अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेटिन लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीले बताए । रोकथामका लागि सबै अस्पतालमा आवश्यक पर्न सक्ने अक्सिजन, टेस्ट किटको कमी हुन नदिने भेन्टिलेटरको समेत व्यवस्था गरिएको जोशीले बताए । “सङ्क्रमण बढ्दा सीमा नाकाबाट भित्रिनेहरु सबैको स्वास्थ्य नमूना परीक्षण गर्न लागिएको छ”, उनले भने, “यसबाहेक नियमितरूपमा रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काम भइरहेको छ ।”


प्रदेशमा अहिलेसम्म खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याका झण्डै २२ लाखको ८० प्रतिशतले पूर्ण खोप पाइसकेकोमा झण्डै पाँचदेखि छ लाख जनसङ्ख्याले अझै खोप लगाउन बाँकी रहेको जनाइएको छ । कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोपको पहिलो मात्रा लगाइसकिएको छ भने दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । नेपाल–भारत बीचको खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच स्वास्थ्य निर्देशनालय दीपायलले गएको २४ घण्टामा प्रदेशमा कोरोनाको शङ्का लागेका एक हजार एक सय सात व्यक्तिको स्वास्थ्यको नमूना परीक्षण गरिएकोमा ९४ मा कोरोनाको सङ्क्रमण भएको जनाएको छ । प्रदेशमा सक्रिय बिरामी पनि दिनदिनै बढ्दै गएका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ६० हजार ६०५ सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो । सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्यको नमूना परीक्षण गर्ने व्यवस्था गरिएको बताए ।

जटिल अवस्थाको सङ्क्रमित बिरामीलाई अस्पतालसम्म पुर्याउन गौरीफन्टा सीमा नाका र गड्डा चौकी सीमा नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । “नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिने गरिएको छ”, उनले भने, “जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ ।”

गत फागुन १६ गते यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु दर शून्यमा झरेकोमा केही दिनअघि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको थियो । फागुनदेखि कम हुँदै गएको सङ्क्रमण दर पनि पछिल्ला दिनमा बढ्न थालेको छ ।