काभ्रेस्थली घटना : दिनेशले परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको आशंका



काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनामा घरमूलीले परिवारका सदस्यको हत्या गरी आफूले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । घरमुली दिनेश पाण्डेले परिवारका सदस्यको हत्या गरी पछि आफूले आत्महत्या गरेको आशंका गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ सोमबार विहान पाण्डे परिवारका चार जना मृत भेटिएका थिए । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षीय छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरीकाअनुसार घटनामा चक्कु प्रयोग भएको छ । प्रहरीका अनुसार श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरिएको छ । छिमेकीहरुका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

श्रीमतीसँगको सम्बन्धलाई लिएर उनीहरुबीच पटक विवाद भएको छिमेकीले बताएका छन् । दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए ।

दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । पछिल्लो समय श्रीमती बेलायत जाने तयारीमा थिइन् । उनले बेलायत जान भिसा समेत लागेको थियो । छिमेकीले शंकाकै कारण बेलायत जाने तयारीमा रहेकी श्रीमतीसहित परिवारको हत्या गरेको बताएका छन् । प्रहरीले घरमा ‘सुसाइड नोट’ समेत भेट्टाएको छ ।