कांग्रेसको निर्वाचन लक्षित ‘जनताको साथमा काङ्ग्रेस’ अभियान घोषणा



काठमाडौँ । नेपाली काङ्ग्रेसले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले निर्वाचन लक्षित अभियान घोषणा गरेको हो ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिने भएका छन्। ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने काङ्ग्रेसले जनाएको छ ।

अभियानअन्तर्गत मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई काङ्ग्रेसले अपील गर्नेछ।