कांग्रेस कसैको अगाडि झुक्दैन : नेता गच्छदार



सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उनले कांग्रेस कुनै पनि तानाशाही, राजा, र कम्युनिष्टको अगाडि कहिले नझुकेकाले आउने दिनमा समेत कसैसँग नझुक्ने बताए । उनले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीको सबै क्षेत्रमा कांग्रेसका उमेदवारलाई विजयी गराउने गरी पार्टीको विचार र सिद्धान्तसहित गाउँगाउँमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरे ।


कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अमृत अर्यालले पार्टीभित्र रहेका असन्तुष्टिलाई बिर्सेर आउने निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने बताए । सोही कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टी महाधिवेशनमा पराजय भएका र विजयी भएका बीचमा देखिएका मनमुटाव समाधानका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।