इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा जिल्ला प्रमुखसहित ३४ जना पक्राउ



इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ ।

पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्वन्धी अरु प्रमाणहरु जुटाउदै गरेको पनि फिक्रिले जानकारी दिए ।


“धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उनले भने । पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।