अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते



अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ । अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।


देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ । साथै बाढीले पोल-ए-आलमका थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्याएको पनि स्थानीयबासीले बताएका छन् ।

यस क्षेत्रमा सयौं परिवार घरबारविहीन बन्दै विस्थापित भएका छन् । साथै दक्षिण-पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ। यसै बीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए।

अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ । भारी वर्षाले करिब २,९०० घरमा क्षति पुर्याएको छ । सडक र पुलहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। यो सँगै गत महिना अफगानिस्तानमा मनसुनी वर्षा र बाढीका कारण करिब ४०० जनाको ज्यान गएको बताइएको छ ।