अदालतबाट १० लाख जरिवाना ठहर भएका गुप्ता पक्राउ



काठमाडाैँ । नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र रु १० लाख जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई आज पक्राउ गरेको हो ।


गुप्ताले आफ्नो सानिमा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेकाले कपनबाट पक्राउ गरेको हो । पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको ब्युरोले जनाएको छ ।