सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु



सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।


अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो । शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् ।