सिम्ता गाउँपालिका : बँदेलले गर्यो बाली नष्ट



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।

बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ । स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर (तिरो) नतिर्ने चेतावनी दिएका छन् ।


केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतङ्क मच्चाएको बताए । “दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन् । हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे”, उनले भने, “मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।”

मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पु¥याएपछि स्थानीय बासिन्दा चिन्तित छन् । स्थानीयका अनुसार बँदेलले रोपेको धान फाँडेर नष्ट गरिदिएको छ । स्थानीय पृथ्वीबहादुर सिंहले बँदेलले अधिकांश कृषकको मकै, धान, तरकारीलगायत बाली नष्ट गरेको छ बताए ।

उनले भने, “यो एउटा दुईटा घरको समस्या होइन, सिङ्गो वडाको ठूलो समस्या हो, हिउँदमा पनि धेरै क्षति भोगियो, बर्खामा पनि केही राखेन, भोलि गाउँपालिकामा पुगेर दबाब दिन्छौँ । सुनुवाइ नभए कर तिर्दैनौँ ।” बँदेलकै कारण सिंगो गाउँले खाद्यान्न अभावको अवस्था भोग्नुपर्ने उनले बताए ।