समयमै सडक निर्माण नगरेको भन्दै थलीमा स्थानीयको आन्दोलन



काठमाडौँ । लामो समयदेखि सडक निर्माण नभएको भन्दै काठमाडौंको थलीका बासिन्दा आन्दोलित भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आइतबार बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

स्थानीय व्यवसायी निश्चल नेपालका अनुसार स्थानीय व्यवसायीले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ–जाउ गर्न रोक लगाएका छन् । थली खण्डको करिब ८ सय मिटर सडक कालोपत्रे हुन बाँकी छ ।


२०७७ सालदेखि नै त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । तर उनीहरुको माग सम्बोधन भएको छैन । यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए ।