संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्न उब्जायोः उपाध्यक्ष नेम्वाङ



दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।

शनिबार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको बताएका हुन् ।


उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्नेमा त्यो नहेरेर थप प्रश्न उब्जाएको बताए ।

उनले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ प्रश्न छ ।’ उनले एमालेले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए ।

उनले संसदमा उठेका सबै प्रश्नको जवाफ अब जनताले निर्वाचनमा दिने बताए । उनले भने,‘ एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री प्रकरणको अब कुनै जवाफ संसद र सरकारबाट आउँदैन । मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबै प्रश्नको जवाफ जनताले नै दिनेछन् ।’