श्रीलङ्कामा आर्थिक सङ्कट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध



श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशव्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजीनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा रहेका छन् भने उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ । गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्का आयात हुने घरेलु उपकरण र खेल सामग्री लगायतका सामानमा प्रतिबन्ध लगाएका थिए । 


दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋणको भारी तिर्न असफल भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलङ्काका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम  छ । तर श्रीलङ्काको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्छ । 

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन । श्रीलङ्काका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा ६ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ ।

७३ वर्षीय राजापाक्ष गत जुलाईमा उनको सरकारी निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि महिनौंसम्म चलेको विरोध प्रदर्शनपछि उनी भागेर सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी थाइल्याण्ड उडेका छन् तर उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।