वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर



काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।

निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिए ।


“वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उनले भने ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताए ।

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगनदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।