राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने मलाई लागेको छः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने विश्वास व्यक्त गरेका छन् ।

पाँच दिने जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले विधेयक प्रमाणीकरणका लागि ढिला गर्न नहुने बताएका हुन् ।


उनले भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लागेको छ । ढिलो नगर्नुपथ्र्यो ।’ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् ।

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । साउन १५ गते राष्ट्रपति कार्यालय पुगेको विधेयक ११ दिन हुँदासम्म पनि प्रमाणीकरण भएको छैन । विधेयक प्रमाणीकरण नभएकोबारे दाहालले जापानमा पनि टिप्पणी गरेका थिए ।

‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनु हुँदैन भन्ने मेरो बुझाइ छ । किनकी नागरिकता विधेयकले लाखौं नेपालीहरू जसका आमाबाबु नेपाली नगारिक छन् तर उनीहरूका उमेर पुगेका छोराछोरीले नगारिकता प्राप्त नगर्दा धेरै सुविधाबाट वञ्चित हुनुपरेको स्थितिलाई सम्बोधन गर्न नै ल्याइएको हो,’ मंगलबार साँझ दाहालले भनेका थिए, ‘नागरिकताको समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न ।’