राजनीतिलाई सही बाटोमा लैजान ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको एमालेको दाबी



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् । सोमबार पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले जनताको अदालतको माध्यमबाट देशलाई सही बाटोमा डोर्याउन एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

उनले जनतालाई समस्या परेको बेला ओलीले अभिभावकत्व प्रदान गरेकाले पार्टीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको बताए । उनले भने,‘देशलाई फेरि जनताको भरोसाका रुपमा उभ्याउन बलियो नेतृत्वको आवश्यक छ । त्यसैले जनताको समस्यामा साथ दिने केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छौं ।’


उनले आगामी निर्वाचन गठबन्धन र बलियो राष्ट्रिय शक्तिबीच प्रतिस्पर्धा हुने बताए । उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए । उनले भने,‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनोटको रुपमा रहेको छ । पाँच दलीय सत्ता गठबन्धनले चुनवामा एक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको छ ।’

अब नेपाललाई विकास र समृद्धिमा लैजान काम एमालेको हातमा रहेको उनले दाबी गरे। उनले भने,‘अदालतलाई मर्यादित बनाउन खोजेको तर विकास समृद्धको एजेन्डासहित जनताबीच सामाजिक सुरक्षासहित लोककल्याणकारी राज्य बनाउने अभियानमा छौँ।’महासचिव पोखरेलले नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको बताए । उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत बताए ।