मेयर बालेनकाे प्रश्न – असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?



बालेन साह ।

हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।


आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।

वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।

सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।