‘मूल्यवृद्धि नियन्त्रणमा भन्दा पनि सरकार साक्षी बस्नमा ब्यस्त भयो !’



काठमाडौँ । सांसद शान्ता चौधरीले वर्तमान सरकार बजारको मूल्यवृद्धि नियन्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्त रहेको आरोप लगाएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले बजारमा वस्तुको अत्याधिक रुपमा बजार मूल्य बढ्दा समेत सरकार टुलुटुलु हेरेर बसिरहेको बताइन् ।

उनले भनिन्,‘अहिले अत्याधिक रुपमा बजार मूल्य बढेको छ । तर सरकार टुलुटुलु हेरेर बसेको छ । एक झोला समान किन्न एक झोला नै पैसा लिएर जानुपर्छ । यस्तो बेला गरिवको चुलो नबल्न सक्छ । महँगीको नाममा भोकमरी आउनसक्छ । सरकारको काम महँगीको साक्षी बस्ने होइन । नियन्त्रण गर्ने हो । गठबन्धनको खुल्ला बजार नीति प्रमुख कारण हो । सरकार महँगी नियन्त्रण भन्दा पनि गठबन्धन खुस्किन्छ की भन्ने चिन्ताले हात बाधेर बसेको छ ।’


त्यस्तै सांसद सरिताकुमारी गिरीले सरकारले विभिन्न बहना बनाएर नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको आरोप लगाइन् । उनले आयल निगमलाई निरुत्साहित गर्ने गरी फिर्ता पाउने भ्याट बापतको ७ अर्ब रकम आयल निगमलाई फिर्ता नगर्ने ९ प्रतिशत ब्याजदरमा टेकुको जग्गा धितो राखेर ३ अर्ब ऋण दिने देउवा सरकार २२ अर्ब भारतीय आयल निगमलाई दिन र बाँकी बारे अध्ययन टोली खटाई घाटा देखाउँदै आयल निगमलाई निजीकरण गर्ने तयारी भएको दाबी गरिन् ।

उनले भनिन्,‘आयल निगमलाई निरुत्साहित गर्ने गरी फिर्ता पाउने भ्याट बापतको ७ अर्ब रकम आयल निगमलाई फिर्ता नगर्ने ९ प्रतिशत ब्याजदरमा टेकुको जग्गा धितो राखेर ३ अर्ब ऋण दिने देउवा सरकार २२ अर्ब भारतीय आयल निगमलाई दिन बाँकी बारे अध्ययन टोली खटाई घाटा देखाउँदै आयल निगमलाई निजीकरण गर्ने तयारी भइरहेको छ । यो सरकारको गलत काम हो । यसलाई रोक्नुपर्छ।’