भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबरमा हुने



भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।

मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाईन मार्फत बैठकमा सहभागीता जनाएका थिए ।


पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट काँग्रेसको बैठक बसेको हो । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ । आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ ।

यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयसम्म अस्विकृत गरिएको थियो भने पार्टीका नेताहरुलाई उनलाई राजीनामा नदिन दवाब दिदै आएका थिए ।

सबै दवाब र अनुरोधहरुलाई अस्विकार गर्दै उहाँले पदमा नफर्किने अडान लिएपछि उहाँकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो । तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षका निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन् । उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउदै आएका छन् ।

यद्यपी भारतीय काँग्रेस पार्टीले यसअघि नै उनकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ ।

सो यात्रा काश्मिरमा पुगेर अन्त्य गरिने भएको छ । पैदल मार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ । दैनिक औसतमा २५ मिलोमिटर यात्रामा हुने अनुमान गरिएको छ । सहभागीहरुले १२ राज्य भ्रमण गर्ने छन् । यात्राका क्रममा छोटा छोटा र्याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तरक्रिया, बैठकलगायतका गतिविधिहरु गरिने भएको छ ।