भारतमा एकै दिनमा दश हजार भन्दा बढी कोरोना सङ्क्रमित



भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन् ।


गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच दक्षिण कोरियामा बुधबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख १३ हजार तीन सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २७ लाख एक हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

्योर घातक सङ्क्रमणबाट सोमबार एक सय ८ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार तीन सय ३२ पुगेको छ ।