बेनी–भकुण्डे सडकको बेहाल



गलेश्वर । ट्र्याक खुलेको १४ वर्ष बितिसक्दा पनि म्याग्दीको सदरमुकाम बेनी–भकुण्डे जोड्ने मोटरबाटोको अवस्था सुधार हुन सकेको छैन । बेनीदेखि भकुण्डेसम्म जोडिएको यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन्, न त सडकको स्तरोन्नतिमा कसैले चासो नै दिएका छन् ।

विसं २०६५ मा ट्र्याक खोलिएकोे साढे ७ किमी दूरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने झनझन खराब हुँदै गइरहेको स्थानीयवासीको गुनासो छ । बेनी–भकुण्डे सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सानासाना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको छ ।


“साना सवारीसाधन वर्षका चार महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, सडक बनेको १३ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक नै ”, स्थानीय बुद्धिजीवी भीमबहादुर पौडेल भन्छन्, “मर्मत र स्तरोन्नतिका लागि रु एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिको सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेको खबराका युवा उद्यमी शोभित सापकोटा बताउछन् । नगरपालिकाको गेटदेखि हाँडेभिर, लम्भलीहिल हुँदै वडा नं २को भकुण्डेस्थित वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

वडा नं २का वडाध्यक्ष हिराबहादुर थापा कमजोर भूबनोट, धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको उल्लेख गर्छन् । सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने तर नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको उनी बताउछन् ।