बेनी–जोमसोम–कोरला सडकमा करिब ६ अर्ब खर्च



म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब ६ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा पाँच अर्ब ८४ करोड खर्च भएको हो ।

विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो । सात अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए ।


“सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,” उनले भने, “सडकतर्फ ६ अर्ब ३१ करोड र पुलतर्फ एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन् ।”

सरकारले आर्थिक वर्ष २०७९/८० मा यस आयोजनालाई एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ । थपिएका मालढुङ्गा–बेनी १३ किलोमिटर र जोमसोम कागबेनी १३ किलोमिटर सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो ।

यसअघि बेनी गलेश्वर ४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ ।

साथै चराङ छोसेर २५ किलोमिटर सडकको भौतिक प्रगति ९० प्रतिशत छ । उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताए । योसँगै जोमसोम कोरला सतवटै खण्डको ग्राभेल सकिने भएको छ । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ ।

उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किलोमिटर अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किलोमिटर सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले मालढुङ्गा बेनी १३ किलोमिटर सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन् ।

कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ ।