बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा



सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । “आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको छ,” एक मन्त्रीले भने ।

सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो । मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन् ।


बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिए । बाढी पहिरोबाट पीडितलाई सहयोगका लागि प्रभावकारी उपाय अपनाउन पनि सरकारी अधिकारीहरुले निर्देशन दिएका छन् ।