बङ्गलादेशमा जुलाईमा डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु



बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन् । तथ्याङ्कअनुसार स्थानीय यसवर्ष देशमा पुष्टि गरिएका डेङ्गु सङ्क्रमितको कूल सङ्ख्या दुई हजार सात सय ४७ पुगेको छ ।


निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुलाईमा नौ जनाको मृत्यु भएको छ भने जूनमा एक जनाको मात्र मृत्यु भएको थियो ।” जून–सेप्टेम्बरसम्म अर्थात् मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । लामखुट्टेले सार्ने रोगहरूका लागि यो एक उच्च जोखिम राष्ट्र मानिन्छ । करिब १६ करोड ५० लाख जनसङ्ख्या रहेको यो देशमा विशेष गरी पर्याप्त मात्रामा जैविक सुरक्षा र रोग निगरानीको सावधानीको कमीका कारण डेङ्गुको समस्या धेरै देखिने गर्छ ।