फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भयोः मेयर बालेन साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहर व्यवस्थापनमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मेयर साहले बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको बताएका हुन् ।


उनले भनेका छन्,‘यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’ उनले फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो भएको भन्दै कानुनी कारबाही गर्ने बताएका छन् ।

उनले भनेका छन्,‘कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’