प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण



विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा हमला गरिएको छ । लेखक रुस्दीलाई शुक्रबार पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण भएको हो ।

उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएको थियो । एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेका थिए । त्यसपछि लेखक भुइँमा ढलेका थिए । रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।


रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् । एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए। यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।