पोखरा महानगरएकद्वारा गुनासो सुन्न ‘हेलो मेयर’ को सुरुवात



पोखरा । तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा÷चोटा चहार्नुपर्ने छैन । पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् ।

महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखि एकद्वार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुवात गरिएको हो ।


सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार महानगरको प्रवेशद्वार बन्द गरेर सेवाग्राहीले बाहिरबाट सबै काम सकेर जाने गरी सेवा प्रवाहको व्यवस्था गरिएको छ । महानगरले त्यसका लागि विसं २०१३ मा निर्माण गरिएको भवनलाई अहिले स्तरोन्नति गरेर एकद्वार सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई बाहिर बस्नका लागि प्रतिक्षालय र कुर्सी राखिएको छ ।

महानगरले नगरवासीलाई दिने सेवा सरल र झन्झटरहित बनाउने योजनाअनुसार काम सुरु भएको प्रमुख आचार्यले बताए । उनले भने, “महानगरपालिकामा सजिलोसँग काम होस् भनेर एकद्वार सेवा सुरुवात गरेका छौँ । वरिष्ठ अधिकृतले फाइल हेरेर कागजपत्र पुगे÷नपुगेको हेर्नुहुन्छ, अपुग भएमा थप गरेर ल्याउन भन्छौँ । फाइल दर्ता भएपछि कसकोमा गएको छ, त्यो रेकर्ड हुने व्यवस्था हुन्छ । अबदेखि महानगरमा फाइल हराउने भन्ने हुँदैन, कामको प्रक्रिया पूरा हुने वित्तिकै नाम बोलाएर कर्मचारीले बुझाउनुहुनेछ ।”

महानगरले सेवाग्राहीका कागजपत्र सम्बन्धित फाँट र भित्र लैजानका लागि हाल पाँच जना कर्मचारी खटाएको छ । उनीहरुले सेवाग्राहीले फाइल बुझाएपछि प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेर फिर्ता गर्नेछन् । प्रमुख आचार्यले महानगरका शाखा र वडामा पनि एकद्वार प्रणाली लागू गरेर काममा सहजता प्रदान गरिने बताए ।

महानगरले ‘हेलो मेयर’ हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले बताए । उनका अनुसार हटलाइन नम्बर अहिले बिहान ९ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । आवश्यकताअनुसार समय थप गर्न सकिने महानगरले जनाएको छ ।