पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियूको प्रदर्शन



काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रदर्शन गरेको छ । बुधबार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले बिरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।


अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताए । उनले अहिले सिंहदबार भित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानावाना  बुन्दै गरेको बताए । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताए ।

त्यस्तै, निगमका प्रवक्ता विनितमणी उपाध्यायले अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको बताए । उनले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताए ।