कांग्रेसले भदौ १० बाट निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने



काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १० देखि २४ गतेसम्म ‘राष्ट्रव्यापी अभियान–२०७९’ सञ्चालन गर्ने भएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २ देखि गर्ने भनिएको अभियानको मिति परिवर्तन गर्दै भदौ १० देखि २४ सम्मका लागि तय गरेको हो ।


बैठकले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ दिन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

यसैगरी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टीको विधान बमोजिम प्रक्रिया पुर्याएर सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको छ।