पाकिस्तानी प्रहरीद्वारा पूर्व प्रधानमन्त्री खानमाथि अनुसन्धान सुरु



पाकिस्तानको प्रहरीले पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। खानका समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको छ।

गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन् । क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन् ।


शनिबार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे ।

प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ ।

प्रहरीले उनी विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने बताए ।

त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि खटिएको बताए । अप्रिलमा अविश्वासको मतमार्फत् खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानी सरकार र खानबीच चुलिएको तनावबीच यो अनुसन्धान अघि बढेको हो ।

सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतवार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरे ।