काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताएका छन् । साथै उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पारेका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानद्वारा शुक्रबार आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध ः नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले भने, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।”
कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उनले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गरे ।
सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उनले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भने । छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए ।
नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गरे ।