परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता गर्ने



काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन गएका हुन् । हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा भ्रमण टोली चीन प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन् ।


त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशल किशोर रायसमेत भ्रमण टोलीमा रहेका छन् । त्यस्तै गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्र मन्त्रालयकी उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसी प्रसाद कोइराला भ्रमण टोलीमा रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन्। चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।