नेप्से ३८ अंकले घट्यो, सेयर कारोबार ३ अर्बमा सिमित



काठमाडौँ । शेयर बजार बिहीबार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भएको थियो।


बिहीबार सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि विन्ध्यवासिनी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।