नेपालले केन्यालाई ५ विकेटले हरायो



काठमाडौँ । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । बिहीबार नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।

यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाए । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहे । बलिङतर्फ केन्याका लुकास ओलाउच र विराज पटेलले दुई÷दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो ।


उसका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल भोलि शुक्रवार, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।