नारायणी रङ्गशालाको प्रतिवेदन राखेपमा



वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशालाको जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा गठित उपसमितिले परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।

नारायणी रङ्गशालाको भोगचलनमा रहेको कूल १८ बिघा जग्गामध्ये १० जना व्यक्तिको १४ कठ्ठा निजी जग्गा रहेकाले उक्त समस्या समाधानका लागि राखेपको ९३औँ बोर्ड बैठकले राखेपका सदस्य हजाराको संयोजकत्वमा जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमिति गठन गरेको थियो । उक्त समितिले नै राखेपका सदस्यसचिव घिसिङलाई समितिको प्रतिवेदन बुझाएको हो ।


गठित समितिले १० जग्गाधनीसँग छलफल गरेर प्रतिवेदन तयार पारी बुझाएको उपसमितिका संयोजक हजाराले बताउनुभयो । हजाराका अनुसार अब परिषद्ले उक्त प्रतिवेदन बोर्ड बैठकमा प्रस्तुत गरिसकेपछि खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालयसमक्ष पुगेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल्याङ्कन समितिले मूल्याङ्कन गरेपछि मुआब्जाको काम अघि बढ्नेछ ।