काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।
नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे । बिहीबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यकताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्यसामान्य दैनिक जिवनका कुराहरु, अप्ठ्याराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।’
पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।