नागरिकताका विषयमा मौसमअनुसारको राष्ट्रियता देखियो : कांग्रेस सचेतक विश्वकर्मा



काठमाडौँ । नेपाली कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले नागरिकता कानुन निर्माणका क्रममा राजनीतिक दलहरूको मौसमअनुसारको अडान देखिएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उत्तर र दक्षिण फर्किँदा फरक–फरक राष्ट्रियता देखिएको भन्दै एमालेप्रति कटाक्ष गरेका हुन् ।

उनले भने, ’हामी मौसमअनुसार उभिन्छौं । हाम्रो राष्ट्रियता पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेको छ । त्यसैले समस्या गरेको छ ।’


उनले राष्ट्रपतिले संसदीय प्रणालीमा संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गर्नुपर्नेमा नगरेकोप्रति असन्तुष्टि जनाए । नागरिकता विधेयकमा रहेका विषयवस्तु सबै दलहरूले स्वीकार गरेको विश्वकर्माको भनाइ थियो ।

उनले नागरिकता कानुन समयमा नबन्दा नागरिकताविहीनलाई समस्या परेको बताए । उनले भने,’नागरिकता विधेयक २२ महिना समितिमा अल्मलियो । नागरिकताविहीनले नागरिकता पाउने अवस्था भएन । त्यसैलाई अध्यादेशको रूपमा ल्यायौं । अध्यादेशलाई राष्ट्रपतिले लामहोहर लगाउँदा उहाँलाई ज्ञान भएकै हो, त्यै अध्यादेशलाई जस्ताको तस्तै विधेयक ल्याएर आएको छ । त्यसैले यसमा राष्ट्रिय सहमतिमा देखिन्छ ।’

नागरिकता विधेयकलाई पारित गर्नका लागि सबै दल तयार हुनुपर्ने उनले बताए । उनले विगतमा गरेका, बोलेका विषयमा ख्याल गरेर नागरिकता विधेयकका विषयमा एकमत हुन आह्वान गरे ।