नाइजेरियामा सैनिक कारबाहीमा २९ विद्रोहीको मृत्यु



नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ ।

कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले जानकारी दिए । आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए ।


मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाकू हुन् । देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ । सैनिक कारबाहीका बीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् ।