नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम क्रिकेट छनोट आजदेखि



सुदूरपश्चिम । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मङ्गलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान सुरु हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन् । भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीच विजेता र बझाङ र डडेल्धुराबीच विजेता टोलीबीच भिडन्त हुनेछन् । दोस्रो खेलमा बैतडी र डोटीबीच विजेता टोलीले बाजुरासँग प्रतिस्पर्धा गर्नेछ ।


भदौ १७ गते कञ्चनपुर र अछामबीच विजेता टोली र १६ गते भएको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ । नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त क्रिकेट टोली नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौँ गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।