नरदेवीबाट ७४ लाख नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ



काठमाडौँ । प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

भारतको राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौंको बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनीहरुको साथबाट ७४ लाख नगद र विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको नौ वटा चेक बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको प्रहरीले जनाएको छ।