दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटतर्फ अघि बढ्दै



दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो ।

भ्रमणको विरोधमा चीनले उक्त क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । सो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आउजाउ गर्ने गरेका छन् । वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गर्दैछन् ।


बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ र ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ । आइतबार चिनियाँ सेनाले ती दुई युद्धपोतको यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ । रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै उक्साहटलाई परास्त गर्न तयार रहेको जनाएको छ ।

अमेरिकी नौसेनाले विज्ञप्तिमा ताइवान स्ट्रेट हुँदै गरिने यात्राले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रका लागि अमेरिकी प्रतिबद्धत प्रस्तुत गर्ने जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेका र आफ्ना फौजले त्यसलाई निगरानी गरेको भए तापनि सामान्य अवस्था रहेको जनाएको छ ।