दिल्लीमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित



भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमले सङ्क्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मङ्कीपक्स पहिलोपटक महिलामा सङ्क्रमण भेटिएको हो । यससँगै नयाँ दिल्लीमा मङ्कीपक्सबाट चौथो व्यक्ति सङ्क्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस सङ्क्रमण पुष्टि गरिएको छ । अहिलेसम्म सङ्क्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ ।


जुलाई १४ मा सङ्क्रमित भेटिएका केरलाका एक व्यक्तिको गत साताको अन्त्यसम्ममा पूर्णतया निको भइसकेको छ । केही दिनअघि मात्र दिल्ली सरकारले मङ्कीपक्स रोगी वा संदिग्ध केसहरूका लागि राष्ट्रिय राजधानी नयाँ दिल्लीका छ अस्पतालहरूमा आइसोलेसनका लागि ७० कोठाहरूको व्यवस्था गरिएको छ भने केरला सरकारले पनि भाइरल रोगलाई फैलन नदिन प्रयाप्त प्रबन्ध मिलाएको जनाएको छ ।