दाहालले राष्ट्रपतिलाई भने – नागरिकतामा तपाईंको चासो र हाम्रो धारणा समान छ



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका नेताहरुबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न बुधबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु राष्ट्रपति निवास शीतल निवासमा पुगेका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रचण्डले पनि अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राखेको चासो र आफूहरुको धारणा समान रहेको बताएका थिए ।


अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै दाहालले फेसबुकमा लेखेकी छिन्, ‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिज्यूले राख्नु भएको चासो र हाम्रो धारणा समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं । सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलीजीले पेश गरि राष्ट्रपति(तपाइँ)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ।’

केही दिनअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयककाबारेमा कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग पनि परामर्श गरेकी थिइन् ।