थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित



थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।

विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री हुन् । उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएका थिए ।


सैन्य सहभागिता बढेपछि कानुन पनि त्यही अनुसार बनाउदै उनले निरंकुशता लादेको विपक्षीहरुको आरोप छ । विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ ।